राजनीति

पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन



काठमाडौँ, ६ असोज । सरकारले जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । जाँचबुझ आयोग ऐनअन्तर्गत गठित आयोगलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ । अध्यक्ष कार्कीले आयोगले दोषी किटान र कारबाही सिफारिस गर्ने बताए ।

२३–२४ भदौको आन्दोलन र प्रदर्शनमा ७४ जनाको मृत्यु भएको थियो भने दुई हजारभन्दा बढी घाइते भएका थिए । काठमाडौं उपत्यका भित्र र बाहिर गरी सरकारी संरचना, निजी सम्पत्तिमा पनि आगजनी र तोडफोड भएको थियो ।