समाचार

मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाउन दिनभर लाग्ने



काठमाडौँ, ८ असोज । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने देखिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । 

तुइन खोला पुल नजिकै मंगलबार दिउँसो  ४:५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन पुगेको छ । 

पहिरो पन्छाउनको लागि आज दिनभरजसो लाग्ने भएकोले वैकल्पिक सडक प्रयोग गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ । 

साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिन्छ। 

मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्चीसडक ३५ किलोमिटर छ । मानपुर–डेढगाउँ कालोपत्रे (४० किमि), डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ । 

यस सम्बन्धमा आवश्यक सूचना तथा जानकारीको लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनाल (मो. ९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ (मो. ९८५५०९२२००) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य (मो. ९८५५०९२२१८) लाई सम्पर्क गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।