समाचार

साधुको हत्या गरेको आरोपमा एक जना पक्राउ



काठमाडौँ, ९ असोज । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ चुनेपानीस्थित एक मन्दिरको कुटीमा बस्दै आएका साधुको हत्या भएको छ । 

लक्ष्मीनारायण मन्दिरको बगैँचामा रहेको कुटीमा बस्ने ७८ वर्षीय भगत रामनारायण डगौराको बुधबार राति हत्या गरिएको हो । प्रहरीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका डगौराको बुधबार मध्यरात करिब साढे १२ बजे हत्या भएको हो ।

प्रारम्भिक अनुसन्धानले उनको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको देखाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

मृतक डगौरा विगत १६ वर्षदेखि सोही कुटीमा बस्दै आएका थिए । लक्ष्मीनारायण मन्दिरका तर्फबाट घटनाबारे प्रहरीमा जाहेरी दर्ता गरिएको छ । 

घटनाको अनुसन्धानका लागि मालाखेती प्रहरीले शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।