Banner News

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौँ, १२ असोज । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

जेन–जी आन्दोलनपछि पहिलो पटक एमालेको बैठक बस्न लागेको हो । बैठक ओली निवास भक्तपुरको गुन्डुमा १ बजे बस्नेछ । जेन–जी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिका विषयमा अध्यक्ष केपी शर्मा ओलीमाथि उठेका प्रश्नमा समीक्षा हुने भएको छ ।

एमालेभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टलगायत नेता जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिमा पार्टी नेतृत्व पुनर्गठन हुनुपर्ने पक्षमा देखिएका छन् । तर ओलीले भने जेन–जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको जिम्मा लिन अस्वीकार गर्दै आएका छन् ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । साथै बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।