काठमाडौँ, १२ असोज । वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले क्यारेबियन टिमलाई हराएको छ ।
नेपालले टेस्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्ने क्रममा शनिबार दुईपटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजलाई १९ रनले निराश बनाएको हो ।
युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका नविन बिदाइसीले सर्वाधिक २२ रन बनाए । अमिर जांगोले १९, कप्तान अकिल हुसैनले १८, केसी कार्थीले १६ र अकिम अगस्टेले १५ रन थपे ।
नेपालका कुशल भुर्तेलले दुई विकेट लिए । करण केसी, नन्दन यादव, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रन बनाएको थियो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३८ रन बनाए । रोहितले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कुशल मल्लले नेपाली टिमको खातामा ३० रन थपे । उनले २१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । १२–२ को स्थितिबाट कुशल र रोहितले ५८ रनको साझेदारी गदै नेपालको इनिङ सम्हालेका थिए ।
नेपालले १०.४ ओभरमा कुशल मल्ललाई गुमाएको थियो । नेपालले १२.४ ओभरमा कप्तान पौडेललाई गुमाएको थियो ।
नेपालको खातामा गुल्सन झाले १६ बलमा दुई छक्कासहित २२ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । सन्दीप जोराले नौ रन थपे । करण केसी ‘गोल्डेन डक’ भए । सोमपाल कामी र नन्दन यादव क्रमशः ६ र सात रनमा अविजित रहे ।
स्कोरबोर्डमा १२ रन जोड्दा नेपालले दुवै ओपनरलाई गुमाएको थियो । नेपालले २.१ ओभरमा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । स्टम्प आउट भएका भुर्तेलले ६ रन बनाए । त्यसपछि नेपालले ३.१ ओभरमा अर्का ओपनर आसिफ शेखलाई गुमायो । आसिफले तीन रन मात्र बनाए ।










प्रतिक्रिया दिनुहोस्