राजनीति

नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डले दिए बधाई



काठमाडौँ, १२ असोज । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

शनिबार राति भएको खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएपछि उनले नेपाली टिमलाई बधाई दिएका हुन् । 

‘यूएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक विजय हासिल गरेकोमा हार्दिक बधाई दिन्छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

प्रचण्ड थप लेख्छन्– ‘यो सफलताले नेपाली युवाशक्ति– उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पबाट हरेक चुनौती सामना गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ।  नेपाली टोलीले सिरिजका आगामी खेलहरूमा समेत अझै उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित पार्ने विश्वास लिएको छु ।’