समाचार

१२ जना कैदीबन्दी गोरखाबाट पक्राउ



काठमाडौँ, १२ असोज । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कास्की कारगारका सात, केन्द्रीय कारागार जगन्नाथदेवलका तीनजना कैदीबन्दी पक्राउ परेका छन् ।

जेनजी प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका एक र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेका एकजना कैदीबन्दीलाई पनि पक्राउ गरेर सम्बन्धित कारागार तथा सुधार गृहमा पठाइएको छ ।

कास्की कारागारबाट भागेर गोरखा आइपुगेका विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामालाई पक्राउ गरिएको झो ।

केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङलाई पक्राउ गरेर सम्बन्धित कारागार चलान गरिएको छ । त्यस्तै, तनहुँ कारागारबाट भागेका विशाल उपरकोटी र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेकी सुस्मा मग्रातीलाई गोरखाबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई केही समय जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा राखी कानुनी प्रक्रिया पूरा गरेर सम्बन्धित कारागार चलान गरिसकिएको प्रहरीले जनाएको छ ।