राजनीति

राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् : राष्ट्रपति पौडेल



काठमाडौँ, १३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गरेका छन् ।

दसैंको शुभकामना दिँदै उनले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका हुन् । उनले दसैँ पर्वको संरक्षण एवम् सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वासका साथ  पुन: बडा दसैँ, २०८२ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक उर्जा विकास गर्न सकोस् भन्‍ने कामना गरेका छन् ।

‘मुलुकमा उत्पन्‍न भएको विषय तथा असाधारण परिस्थिति एवम् मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गरी तोकिएको निर्वाचन समयमै सम्पन्‍न गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्‍न सबै प्रकृतिका समस्याहरूको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्‍त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु ।’, पौडेलले भनेका छन्, ‘यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्‌भाव र भाइचारा मजबुद् बनाउँदै मुलुकमा रहेको भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्त्वपूर्ण योगदान पुर्‍याई रहेको देखिन्छ ।’