Banner News

नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो: महासचिव पोखरेल



काठमाडौँ, १३ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल भूराजनीतिको द्वन्द्वको चपेटामा परेको दावी गर्नुभएको छ ।

भदौ २३ र २४ को जेन जी आन्दोलनपछि विकसित घटनाक्रमले नेपालमा विदेशी शक्तिहरुको खेल बढेकोप्रति संकेत गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो । राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरुको खेलवाट हामीले आफुलाई जोगाउन सकेनौ । हाम्रो देश पनि बैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो ।’

सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा युवाहरुको विश्वास जित्न नसकेको स्वीकार गर्दै नेपाललाई बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र र स्वाधिनता एवं स्वभिमानको बाटोबाट पछाडि धकेल्ने प्रयास सफल नहुने बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘हामीले सबै समस्याको समाधान लोकतान्त्रिक वाटोवाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न सकेनौ । उनीहरुको भावना र चाहनासंग नेपाली राजनीतिलाई जोड्न सकेनौ । तर यसको अर्थ नेपालाई बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र र स्वाधिनता एवम् स्वाभिमानको बाटोबाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन । ढिलोचाडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्कने छ र फर्काइने छ । नेकपा९एमाले० निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि वढ्न प्रतिवद्ध छ र रहनेछ ।’