राजनीति

अवरुद्ध विद्युत् आजै सुचारु हुन्छ : मन्त्री घिसिङ



काठमाडौँ, १९ असोज । ऊर्जा, भौतिक पूर्वाधार एवं सहरी विकासमन्त्री कुलमान घिसिङले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत् आजैबाट सुचारु हुने बताएका छन् ।

आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री घिसिङले केही ठाउँमा विद्युत् पोल बगाएको, केही ठाउँमा डुबानका कारण अवरुद्ध विद्युत् आजै बेलुकासम्म सुचारु गराउने गरी काम भइरहेको बताए ।

उनले भने, “विद्युत्को केही ठाउँमा पोल बगाएको छ । केही ठाउँमा डुबानका कारण अवरुद्ध छन् । ललितपुरको दक्षिणतिरका विकट ठाउँहरूमा जहाँ पोलहरू ढलेको छ । त्यो कारणले केही अवरुद्ध छन् । हामीले बिहानैदेखि सबैलाई परिचालन गरेका छौँ । र केही टावरहरूमा पनि क्षति पुगेको छ । तर त्यो ढलेको होइन । त्यसलाई रिस्टोर गर्न केही समस्या छैन । अहिले हामीले डिष्ट्रीबुसन लाइनका कारण केही ठाउँमा पोल ढलेको कारण केही समस्या छ । त्यसलाई आज दिनभरमा सबै ठाउँमा रिस्टोर गर्ने भनेर मेन्टिनेन्स टिमहरू मोविलाइज भइसकेको छ । लोडसेडिङ हुनुपर्ने अवस्था पछि छैन ।“”