समाचार

तुलसीको विशेष पूजा आजैदेखि सुरु



काठमाडौँ, २१ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदैछ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानगरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जनाकारी दिए ।