समाचार

एक युवकको विभत्स हत्या



काठमाडौँ, २५ असोज । कैलालीमा आपसी विवादमा एक युवकको विभत्स हत्या भएको छ ।

प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको हो ।

सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मासमर्पण गरेको हो ।

उनकाअनुसार धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति नै घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए । सोही क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए ।

सुर्खेतबाट मृतकका आफन्त आउँदैछन् । अहिले शव घटनास्थलबाट उठाइएको छैन ।