विश्व

पाकिस्तानको हवाई आक्रमणमा तीन अफगानी क्रिकेटरको मृत्यु



एजेन्सी, १ कार्तिक । पाकिस्तानले गरेको हवाई आक्रमणमा तीन अफगानी क्रिकेट खेलाडीको मृत्यु भएको छ । आक्रमणमा कबीर, सिबगतुल्लाह र हारुन गरी तीन खेलाडी मारिएका छन् । 

अफगानिस्तान क्रिकेट बोर्डले शनिबार पाक्टिका प्रान्तमा भएको पाकिस्तानको हवाई आक्रमणमा मारिएका तीन अफगानी क्रिकेट खेलाडीको निधनप्रति दुःख व्यक्त गरेको छ । 

उक्त घटनापछि अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तानमा हुने भनिएको आगामी त्रिकोणात्मक शृंखलाबाट बाहिरिने निर्णय घोषणा गरेको छ । 

सामाजिक संजाल एक्समार्फत सार्वजनिक विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तान क्रिकेट बोर्डले पाक्टिका प्रान्तको उर्गुन जिल्लाका बहादुर क्रिकेट खेलाडीहरूको दुःखद शहादतप्रति गहिरो शोक र दुःख व्यक्त गर्दछ, जसलाई आज साँझ पाकिस्तानी सेनाद्वारा गरिएको कायरतापूर्ण हमलामा लक्षित गरिएको थियो ।” 

खेलाडीसँगै उर्गुन जिल्लाका अन्य पाँचजनाको पनि मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।

खेलाडीहरू यसअघि एउटा मैत्रीपूर्ण क्रिकेट खेलमा भाग लिन पाक्टिका प्रान्तको राजधानी शरणा गएका थिए । 

उर्गुनमा आफ्नो घर फर्किएपछि स्थानीय जमघटको क्रममा उनीहरूलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख छ । द इकोनोमिक्स टाइम्स