काठमाडौँ, १ कार्तिक । सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् ।
आज कोषका कामकारबाहीबारे जानकारी लिँदै उनले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए । हाल हरित जलवायु कोषबाट मान्यता प्राप्त हुने क्रममा रहेको र मान्यता प्राप्त भएपछि कोषलाई हरित ऊर्जासम्बन्धी परियोजनामा लगानीको लागि ठूलो आर्थिक अनुदान सहयोग उपलब्ध हुने मन्त्री घिसिङको विश्वास थियो । मन्त्री घिसिङले विद्युतीय सवारी साधन, चार्जिङ स्टेसनजस्ता ‘इ-मोबिलिटी’का क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई सुझाव दिए ।
उनले भने, ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गरिने यस कोषबाट फोहर व्यवस्थापन र ऊर्जा उत्पादन जस्ता परियोजनामा लगानी गर्न सकिन्छ । त्यसको सम्भाव्यता अध्ययन गरौँ । अब लगानी गर्नुपर्ने तथा लगानी गर्ने क्षेत्राधिकारलाई अझ विस्तार गर्नको लागि आवश्यक कानूनी प्रबन्ध गर्न सरकार तयार छ ।’










प्रतिक्रिया दिनुहोस्