राजनीति

एमाले अध्यक्ष ओलीको घोषणाप्रति राष्ट्रपति पौडेल असन्तुष्ट



काठमाडौँ, १ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट देखिएका छन् ।

बौद्धिक समुदायका अगुवाहरूसँग शनिबार भएको छलफलका क्रममा उनले एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

छलफलमा सहभागी एक अगुवाले भने, ‘एमालेको भूमिकाबारे एकछिन छलफल भयो । राष्ट्रपतिज्यू एमालेको हिजोको निर्णयबाट असन्तुष्ट हुनुहुन्थ्यो । एमाले अध्यक्षबाहेकका नेताहरूसँग राष्ट्रपतिले भेट्नुभएको रहेछ । उहाँहरूले निर्वाचनमै जानुपर्छ भएको रहेछ ।’

राष्ट्रपति पौडेलले ओलीकै सिफारिसमा आफूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको पनि छलफलका क्रममा बताएका थिए । निवर्तमान प्रधानमन्त्री ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधनका क्रममा आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए ।