Banner News

हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने



काठमाडौँ, ७ कार्तिक । हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । 

आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम अगाडि बढाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो ।

आयोजना निर्माणका लागि कूल ४७.१३ हेक्टर जमिन आवश्यकता पर्ने छ । विद्युत् उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाकाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधान रही आएको छ ।

आयोजनाबाट सुक्खायामका छ सय ९.८९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ भने वर्षा याममा एक हजार एक सय ८४ दशमलव ८३ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत रु २१ करोड ७६ लाख बराबर रहेको छ । यस्तै, कुल लागत रु ७२ अर्ब ९० करोड ८० लाख बराबर रहनेछ ।