काठमाडौँ, १३ कार्तिक । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जनता बलियो बनाउने गरी नेतृत्वको पुनर्गठनमा जोड दिएका छन् ।
बुधबारदेखि जारी पार्टी केन्द्रीय कमिटीको बैठकमा उनले मौखिक धारणा व्यक्त गरेका हुन् । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपा बलियो नभएको उनले बताए । तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली मात्र बलियो बन्न पुगेको उनले टिप्पणी गरे ।
भुसालले अब पार्टी अध्यक्ष माधवकुमार नेपाल र माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फरक भूमिकामा रहनुपर्ने बताए ।
माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताको तयारी भइरहेको छ । उनले नाम र झन्डा मिल्दैमा एकता गर्न नहुने धारणा राखे ।
“माधवजी, प्रचण्डजी अब फरक भूमिकामा जानुस् । कार्यकर्ताले त तपाईंहरूको भूमिका मानेकै हो, जनताले मानेनन्,” भुसालले बैठकमा भने, “अब आदेशले समाज चल्दैन, अलि सोचेर सैद्धान्तिक, वैचारिक एकता गरौँ । नाम मिल्यो, झन्डा मिल्यो भनेर प्राविधिक एकता नगरौँ, यो अपमानपूर्ण हुन्छ ।”
उनले पार्टी पुनर्गठन गरेर बृहत् वाम एकताको ढोका खोल्न सकिने बताए । आफ्नो मतलाई अध्यक्ष नेपालले सम्बोधन गरेपछि मात्र यसबारे निर्णय सुनाउने उनले उल्लेख गरे ।










प्रतिक्रिया दिनुहोस्