समाचार

बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन रोक



काठमाडौँ, १३ कार्तिक । मोन्था चक्रवातको प्रभावका कारण भारी वर्षा र बाढी पहिरोको जोखिम मूल्यांकन गर्दै बीपी राजमार्ग रातको समयमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि प्रशासनले बीपी राजमार्ग भएर काठमाडौँतर्फ जाने सवारी साधनलाई रोक लगाएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १३ गतेदेखि १५ गतेसम्म यस क्षेत्रमा भारी वर्षाको सम्भावनाको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयले कात्तिक १३ र १४ गते  (२ दिन)का लागि बेलुका ७ बजेदेखि बिहान ९ बजेसम्म सिन्धुलीको खुर्कोटबाट काठमाडौँतर्फ जाने सबै प्रकारका सवारी साधनको आगमनमा पूर्ण रोक लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले एक सूचना जारी गर्दै बर्सात र बाढी पहिरोबाट सवारी साधन र यात्रुहरूलाई सम्भावित जोखिमबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति हुन नदिनका लागि उक्त समयमा सवारी आगमनमा निषेध गरिएको हो । प्रशासनले दिउँसोको समयमा भारी वर्षा भएमा सुरक्षा निकायले कुनै पनि सुरक्षित स्थानमा सवारी साधन रोक्न सक्ने जनाएको छ ।