काठमाडौँ, १४ कार्तिक । माओवादीसँग एकताको विषयले एकीकृत समाजवादीमा मतभेद बढेको छ ।
समाजवादीका सम्मानित नेता झलनाथ खनालले एकतामा असहमति जनाएका छन् भने महासचिव घनश्याम भुसालले पनि राजनीतिक र वैचारिक आधारबिना भएको एकता धोका हुने भन्दै फरक मत राखेका छन् । माओवादीसँगको एकताले समाजवादीको अस्तित्व सकिने भन्दै खनाल, भुसालसँगै उपाध्यक्ष घनेन्द्र बस्नेतले असहमति जनाएका छन् । वरिष्ठ नेता वामदेव गौतम भने माओवादीसँग एकताप्रति सकारात्मक देखिएका छन् । नेतृ रामकुमार झाँक्रीले माओवादीसँग एकता गर्ने विषयमा ‘रिजर्भर्सेन’ राख्दै आएकी छन् । पछिल्लो समय उनी एमाले नेतासँग अनौपचारिक संवादमा छिन् ।
बिहीबार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकताको पक्षमा राजनीतिक दस्ताबेज प्रस्तुत गरेपछि महासचिव भुसालले सैद्धान्तिक विषयमा आधार नभई एकता गर्न नहुने धारणा राखेका हुन् । माओवादीसँग एकताका लागि पार्टीको नीति छाड्ने हो भने एमालेसँग पनि मिल्न गाह्रो नहुने तर्क उनले गरेका छन् । आफ्नो नीति छाडेर जोसँग एकता गरे पनि त्यसले वामपन्थी आन्दोलन अघि बढ्न नसक्ने उनको भनाइ छ ।
सम्मानित नेता खनालले माओवादीसँग मिलेर पार्टी विभाजन र विलय गर्न खोजेको भन्दै विरोध गरेका छन् । ‘माओवादीमा अहिले जानुको अर्थ यो पार्टीलाई विसर्जन, विलय र विभाजन गर्ने हो,’ उनले भने, ‘हामी जति हुन्छौं, आफ्नो ढंगले अघि जान्छौं ।’
समाजवादीका वरिष्ठ नेता एवं माओवादीसँग वार्ता टोलीका संयोजक बेदुराम भुसालले ‘नेपाली विशेषताको समाजवाद’ को बाटोमा अघि बढ्ने, मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद हुने विषयमा सहमति भइसकेको बैठकमा जानकारी दिएका थिए । एकतापछि दाहाल पहिलो र नेपाल दोस्रो वरीयतामा हुने गरी सांगठनिक संरचना बनाउने तयारी छ । त्यसलाई पनि महासचिव भुसालले अस्वीकार गरेका छन् । ‘सैद्धान्तिक कुरामा हामीले खेलबाड नगरौं । यसमा खेलबाड गरियो भने यो एकता धोका हुन्छ,’ भुसालले भने, ‘जनताको बहुदलीय जनवाद भन्ने एउटा शब्द निकाल्दिने हो भने एमालेसँग नमिल्नुपर्ने कुनै कारण छैन ।’
माओवादीसँग एकताका विषयमा फरक मत भए पनि अधिकांश केन्द्रीय सदस्यले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्नेमा जोड दिएको उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले बताए । बिहीबार ३० जना केन्द्रीय सदस्यले धारणा राख्ने क्रममा पनि माओवादीसँग एकताको आधार बलियो हुनुपर्ने बताएका थिए ।










प्रतिक्रिया दिनुहोस्