समाचार

मुस्ताङमा हिमपात, जनजीवन प्रभावित



काठमाडौँ, १४ कार्तिक । मुस्ताङमा निरन्तर वर्षा भइरहेको छ । जिल्लाको पाँचैवटै स्थानीय तहमा निरन्तर वर्षा भइरहेको छ ।

निरन्तर वर्षा भइरहेकाले जनजीवन प्रभावित भएको छ । पढ्ने बालबालिकालाई सास्ती भएको छ ।

धेरैजसो विद्यार्थी घरबाटै विद्यालय आउजाउ गर्ने भएकाले वर्षाले असर पुर्‍याएको धौलागिरि आवासीय माध्यमिक विद्यालयका शिक्षक आदित्यचन्द्र थकालीले जानकारी दिए । वर्षा भइरहे पनि सबै विद्यालयमा पठनपाठन भने भइरहेको छ ।

हिमपात र वर्षा भइरहे पनि भक्तजनका लागि मुक्तिनाथ मन्दिर खुल्लै रहेको छ । मुक्तिनाथ दर्शन गर्न जाने ज्येष्ठ नागरिक, अपाङ्ग र अशक्त भक्तजनलाई मन्दिर पुगेर दर्शन गरी फर्किन सकस भइरहेको छ । मुक्तिनाथ बसपार्कदेखि घोडा र डोलीमा चढाएर मुक्तिनाथ आउजाउ गर्ने कार्य प्रभावित बनेको छ ।

यसैबीच वर्षाका कारण राष्ट्रिय गौरवको जोमसोम-कोरल सडक पहिरोका कारण अवरुद्ध  बनेको छ । जोमसोम–कागबेनी र कागबेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो 

मनसुन सक्रिय भई हिमपात र वर्षाको जोखिम कायमै रहेकाले रातिको समयमा यात्रा नगर्न समेत स्थानीय प्रशासनले अनुरोध गरेको छ ।