समाचार

मोरङमा ‘अति भारी’ वर्षा



काठमाडौँ, १४ कार्तिक । पश्चिमदेखि पूर्वी नेपालका धेरै स्थानमा यति बेला वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा ‘हल्का’देखि ‘अति भारी’सम्म पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज बिहान ११ बजेसम्म आठ स्थानमा १०० मिलिमिटरभन्दा धेरै पानी परेको विभागको तथ्यांक छ । 

पछिल्लो २४ घण्टामा मोरङको हरैँचामा सबैभन्दा धेरै २१२.४ मिलिमिटर पानी परेको छ । २०० मिलिमिटरभन्दा धेरै यो वर्षा ‘अति भारी’ भएको हो ।

यो अवधिमा दोस्रो धेरै वर्षा सप्तरीको बरमझियामा १४६.२ मिलिमिटर भएको छ । झापाको शनिश्चरेमा ११३.६, झापाकै दमकमा ११३.४, अनारमनीमा १०९.४, बाहुनडाँगीमा १०७.८, इलामको मैनाचुलीमा १०६.८, उदयपुरको उदयपुरगढीमा १००.२ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यो ‘धेरै भारी’ वर्षा हो ।

काठमाडौँमा भने ‘मध्यम’ पानी परेको छ । नैकापमा ४४.६, पानीपोखरीमा ४०.४, धाप ड्याममा ३७, कीर्तिपुरमा ३६.८, बबरमहलमा ३६.६, साँखुमा ३६.२, सुन्दरीजलमा ३४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

देशमा हाल बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव छ । मोन्था यति बेला भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।