विशेष संवाददाता भीष्मराज ओझा
न्यूयोर्क, ८ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस्ले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको प्रशंसा गर्दै आगामी दिनमा हुने अन्य निर्वाचन सफलताका लागिसमेत शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र महासचिव गुटेर्रेस्बीच आज भएको उच्चस्तरीय भेटवार्तामा महासचिव गुटेर्रेस्ले नेपालमा लोकतन्त्रको संस्थागत विकास प्रक्रियाप्रति खुशी व्यक्त गर्नुभएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले नेपालमा संविधान जारी भएपछि सबै दलको सहभागितामा उत्साहपूर्वक स्थानीय तहको निर्वाचन सम्पन्न भएको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुने चरणमा रहेको अवगत गराउनुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले महासचिव गुटेर्रेस्लाई नेपालमा समावेशी लोकतन्त्रअन्तर्गत महिला, आदिवासी, जनजाति, पिछडिएका वर्ग, अल्पसंख्यकलगायत सबैको समावेशीता सुनिश्चित भएको बताउनुभएको थियो । प्रधानमन्त्री देउवाले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक निष्कर्षमा पुगेको बारेमा समेत उहाँलाई जानकारी गराउनुभएको थियो ।
महासचिव गुटेर्रेस्ले नेपालमा हालै गएको बाढी पहिरोबाट निधन भएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै सिंगो मुलुकप्रति सहानुभूति प्रकट गर्नुभएको भेटवार्तामा सहभागी परराष्ट्र सल्लाहकार डा भट्टराईले बताउनुभयो । भेटमा महासचिव गुटेर्रेस्ले नेपालले विश्व शान्तिका लागि नेपाली सेना पठाएर गरेको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले काभ्रेको पाँचखालमा रहेको शान्ति सेनाको प्रशिक्षण केन्द्रको क्षमता अभिवृद्धि र क्षेत्रीयस्तरको बनाउन सहयोगका लागि गर्नुभएको आग्रहलाई महासचिव गुटेर्रेस्ले सकारात्मक लिनुभएको थियो । प्रधानमन्त्री देउवाले नेपालले शान्ति सेनामा पु¥याएको योगदानका आधारमा शान्ति सेनाको उपल्लो पद पाउनुपर्ने विषयमा समेत कुरा राख्नुभएको थियो ।
राष्ट्रसंघको ७२औँ महासभामा भाग लिन यहाँ आउनुभएका प्रधानमन्त्री देउवाले आज महासभालाई सम्बोधनपछि महासचिव गुटेर्रेस्सँग भेटवार्ता गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्