राजनीति

चुनावमा सुरुबाटै सेना परिचालन गर्न आयोगको सुझाव



काठमाडौँ, १५ कार्तिक । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरुदेखि नै सेना परिचालन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिने भएको छ ।

सुरक्षा निकायका अधिकारीहरू र आयोग पदाधिकारीबीच शुक्रबार बसेको बैठकमा मतदाता, राजनीतिक दल र कर्मचारीलाई सुरक्षा बन्दोबस्तीप्रति आश्वस्त तुल्याउन छिट्टै एकीकृत सुरक्षा योजना लागू गरिनुपर्ने सुझाव आएको हो ।

यसअघि निर्वाचनको एक/दुई साता अगाडिबाट मात्र सेना परिचालन गरिन्थ्यो । यसपटक प्रारम्भदेखि नै प्रहरी, सशस्त्र र सेनालाई एकीकृत ढंगले परिचालन गर्नुपर्ने अवस्था रहेको आयोगले जनाएको छ । आयोगले पनि सुरक्षाको पहिलो पंक्तिमा उभिने प्रहरीलाई सहयोग पुग्ने गरी सुरुवातदेखि नै सशस्त्र र सेना परिचालन गर्नुपर्ने धारणा राखेको थियो ।

२३ र २४ भदौको प्रदर्शनका कारण प्रहरीको मनोबल कमजोर भएको विश्लेषण गर्दै बैठकमा सशस्त्र र सेनालाई पनि एकीकृत रूपमा सुरुवातबाटै फिल्डमा उतार्नुपर्ने समान धारणा बनेको हो ।