काठमाडौं, ९ असोज । कार्यकाल सकिन लागेका बेला ‘चलाखीपूर्ण’ रूपमा राज्यकोषबाट सुविधा लिने सांसदहरूको प्रयास असफल भएको छ ।
पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसदलाई पनि राखेर चलाखीपूर्ण रूपमा राज्यकोषबाट सुविधा लिन सांसदहरूले गरेको प्रस्तावलाई सरकारले अस्वीकार गरेपछि उक्त विधेयकको भविष्य नै संकटमा परेको हो ।
सरकारले पूर्व सम्माननीयहरू ९पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष, प्रतिनिधिसभाका पूर्वसभामुख र राष्ट्रियसभाका पूर्वअध्यक्ष लाई सुविधा दिन उक्त विधेयक संसद्मा ल्याइए पनि राज्यव्यवस्था समितिले पूर्वसांसदलाई पनि पूर्वपदाधिकारीको मर्यादाक्रममा राखेर राज्यकोषबाट सुविधा दिन प्रस्ताव गरिएको थियो ।
समितिअन्तर्गत कांग्रेस सांसद जीवनबहादुर शाही संयोजकत्वको उपसमितिले पूर्वसांसदलाई पनि पूर्वपदाधिकारीको मर्यादामा राखेर सरकारी अस्पतालमा निःशुल्क उपचार र संविधानसभा सदस्यलाई विशिष्ट लोगो दिन प्रस्ताव गरेको थियो । समितिको आइतबारको बैठकमा गृहमन्त्री जनार्दन शर्माले सांसदलाई पदाधिकारी मान्न नसकिने भन्दै विधेयकलाई स्वीकार नगर्ने अडान लिएका थिए ।
सांसदहरूले पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसदलाई पनि राखेर चलाखीपूर्ण रूपमा राज्यकोषबाट सुविधा लिन खोजेका थिए ।
‘अन्तर्राष्ट्रिय प्रचलन हेर्दा पनि सम्माननीयहरू मात्र पूर्वपदाधिकारीमा पर्छन्,’ मन्त्री शर्माले भने, ‘सांसदहरूलाई पदाधिकारी मान्ने हो भने भोलि प्रदेशका मुख्यमन्त्री, प्रदेशका सांसद, नगर–गाउँका पदाधिकारीलाई मान्यता दिने कि नदिने ? त्यसैले यो विधेयक सरकारले अस्वीकार गर्छ ।’ अन्नपूर्ण पोस्टमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्