काठमाडौँ, २४ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले आगामी फागुन २१ गते हुने निर्माचनमा भाग लिनमात्र नभई सफल बनाउन लाग्नेछ उद्घोष गर्नुभएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनःस्थापना गर्नको लागि आ–आफ्ना सांसदहरुलाई हस्ताक्षर गराइरहेको समयमा महामन्त्री थापाले नेपालको संविधान र गणतन्त्रको रक्षाको लागि कांग्रेसको नेतृत्व आवश्यक रहेकाले निर्वाचनमा भाग लिनुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा आज भन्नुभएको छ, ‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ । संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन । नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन । यस सन्दर्भमा हामी स्पष्ट छौँ । निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो । अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ । यसमा कसैले पनि द्विविधा नराखौँ ।’










प्रतिक्रिया दिनुहोस्