राजनीति

मन्त्री बिच्छालाई तत्काल सरकारबाट फिर्ता हुन अध्यक्ष लिङ्देनको निर्देशन



काठमाडौँ, २४ कार्तिक । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीबाट आज मधेश प्रदेशका मन्त्री कन्चन बिच्छालाई प्रदेश सरकारबाट तत्काल फिर्ता हुन निर्देशन दिनुभएको छ ।

आज नै एमालेका नेता सरोज यादवको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । उक्त सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका थिए । नियुक्त भएको केही घण्टा नवित्दै अध्यक्ष लिङ्देनले प्रदेश सरकार गठन प्रकृया नै अनुशासनको गम्भीर उल्लंघन भएको भन्दै राप्रपाका सदस्यलाई सरकारबाट फिर्ता हुन निर्देशन दिनुभएको हो । फिर्ता नभए विधान अनुसार कारवाही गर्ने चेतावनी समेत दिनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘मधेस प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारवाही हुने जानकारी गराउँछु ।’