Banner News

आफूहरु एक्लै निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा : अध्यक्ष दाहाल



चितवन, १० असोज । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताएकाछन ।

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले चितवन क्षेत्र नं ३ मा आफूले एक्लै निर्वाचन लडेर जित्ने कोसिसमा रहेको पनि बताए । एक्लै निर्वाचन जित्न सक्नुहुन्छ भन्ने प्रश्नमा दाहालले भने, सम्भावना छ भन्ने विश्वासमा छु । सो क्षेत्रमा माओवादी तेस्रो शक्ति रहेको छ ।

यद्यपि चुनावी तालमेलका विषयमा अन्य दलहरुसँगको छलफल पनि जारी रहेको उनले बताए । दाहालले भने तालमेलको छलफल सबै दलसँग चलेको छ, टुंगो लागेको छैन । नेपाली काँग्रेस र नेकपा एमाले सँग तालमेलका विषयमा छलफल चलिरहेको भन्दै उनले ठोस निष्कर्षमा नपुगेको बताए।

संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग मात्रै तालमेल गर्ने नीतिगत निर्णय भएको भन्दै उनले माओवादीप्रतिको जनलहर रहेकाले एक्लै निर्वाचनमा जान पनि सकिने बताए ।

बाँदरमुढे घटनाका कारण अहिले पनि आलोचित दाहाल असोज तेस्रो साता माडी जाने पनि बताए । बाँदरमुढे घटनापछि माडीको विकासका लागि प्याकेजसहित आउने यसअघि घोषणा गरे पनि पीडितले प्याकेज पाउन सकेका छैनन् । दाहाल यसै क्षेत्रबाट निर्वाचन लड्ने भएपछि बाँदरमुढे पीडितले पनि राहत पाउने आशा गरेका छन् ।

निर्वाचनमा उठ्ने भएपछि विभिन्न कार्यक्रममा दाहाल सहभागी हुने क्रम बढ्दो छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पूर्व प्रधानमन्त्रीको हैसियतले भाग लिन दाहाल यहाँ आएकाहुन ।