राजनीति

गृहमन्त्रीले राजीनामा दिनुपर्छ : अध्यक्ष साह



काठमाडौँ, २७ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भदौ २३ गतेको जेनजी आन्दोलनमा युवाहरुमाथि गोली बर्साएर हत्या गर्नेहरूलाई अहिलेसम्म कारबाही नगरिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् ।

बुधवार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गृहमन्त्री अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउँदै जिम्मेवारी पूरा नगर्ने हो भने मार्गप्रस्त गर्नुपर्ने बताए । एक साताभित्र जेनजी आन्दोलनमा दमन गर्नेहरु र युवाहरुको हत्यामा संलग्नलाई कारबाही नगरे काठमाडौंबाहिर निस्किन नदिने चेतावनी समेत दिए ।

उनले भने, ‘जेनजी हत्याराहरूलाई एक साताभित्र बयान नलिए र कारबाही नगरे गृहमन्त्रीलाई काठमाडौंबाट बाहिर निस्कन दिनुहुँदैन् । अहिलेका गृहमन्त्रीको कारण देशमा शान्ति, सुरक्षा र अमनचयन हुने सम्भावना देखिएन ।’

साहले तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई बयान लिन ढिलाई गर्नुको कारण के हो ? भनेर पनि गृहमन्त्रीलाई सोधेको छन् । जेनजी आन्दोलनको दमन र हत्याबारे जाँचुबझ गर्न बनेको आयोगका पदाधिकारीको क्षमतामाथि पनि उनले प्रश्न उठाएका छन् । माथिबाट बयान लिएर जानुपर्नेमा जाँचबुझ आयोगका पदाधिकारी जिल्ला भ्रमण र अवलोकनमा लागेको भन्दै उनले आक्रोश पोखे ।