काठमाडौँ, २७ कार्तिक । अनलाइन जुवा (सट्टाबाजी) खेलाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत मंगलबार साँझ ५ बजे काठमाडौँ महानगरपालिका–११, सुन्धारास्थित ‘द माउण्ट फुजी होटल’ को कोठा नम्बर १०१ मा छापा मारेको थियो।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश देवरिया जिल्ला स्थायी घर हुने वर्ष ५५ का धर्मनाथप्रसाद र कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थायी घर भइ हाल रूपन्देही बस्ने वर्ष २५ का राम नन्द यादव रहेका छन् । उनीहरूलाई बेटिङ वेबसाइटहरू प्रयोग गरी अनलाइन जुवा खेल्ने–खेलाउने कार्य गरिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट ६ थान मोबाइल, विभिन्न व्यक्तिका नाममा रहेका ६ थान चेक, हिसाब किताबको अभिलेख राखिएको १ थान नोटबुक र नेपाली नगद रु.३७ हजार बरामद गरेको छ।
अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरूको खातामा मौज्दात रकम २८ लाख ४६ हजार ९८.९७ रुपैयाँसमेत देखिएको छ । पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्