Banner News

महामन्त्री थापाले राखे विशेष महाधिवेशनको प्रस्ताव



काठमाडौँ, २८ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको प्रस्ताव राखेका छन् ।

बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा कार्यसमितिमा बहुमत भएको संस्थापन पक्ष प्रतिनिधिसभा निर्वाचनअगाडि महाधिवेशनको पक्षमा नदेखिएपछि थापाले २७–२८ मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् । 

थापाले यसअघि १८ कार्तिकको बैठकमा १६–१९ पुसमा नियमित महाधिवेशन गर्ने गरी तालिका प्रस्ताव गरेका थिए । त्यसलाई अस्वीकृत गर्ने योजनासाथ संस्थापन पक्षका नेताहरूले सहमहामन्त्री महेन्द्र यादवमार्फत त्यही दिन २७–२९ वैशाखमा महाधिवेशन गर्ने ‘काउन्टर’ प्रस्ताव ल्याएका थिए ।

केन्द्रीय कार्यसमितिले बहुमतबाट नियमित महाधिवेशन रोक्न सक्ने भए पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरिसकेकाले त्यसलाई रोक्न मिल्ने वैधानिक व्यवस्था छैन । विधानको धारा १७ (२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट विशेष महाधिवेशन माग गरिए तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले २९ असोजमै विशेष महाधिवेशनको माग गर्दै निवेदन दिएका छन् ।