काठमाडौँ, २८ कार्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचीमा राख्ने क्रम अस्वाभाविकरूपमा बढेको बताएका छन् ।
आज काठमाडौँमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभामा बोल्दै गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा डेढ लाखभन्दा बढी कालोसूचीमा राखिनु स्वाभाविक नभएको बताए ।
उनले भने, “ब्ल्याक लिस्टको ठूलो इस्यू भएको छ । अहिले डेढ लाख मान्छेहरू कालोसूचीमा पर्न थाले । चेक बाउन्सलाई नै हामीले अपराधीकरण गरिदिदियौँ । चेक त मेरै कतिवटा बाउन्स भएको थियो विद्यार्थीकालमा । कहिलेकाहीँ कति रुपैयाँ छ भनेर थाहै हुँदैन । चेक काटिन्छ । चेक बाउन्सलाई क्रिमिनलाइज गर्न कति जरुरत हो ? अरू देशमा के छ ? जरिवाना तिरेर हुने हो कि ? हामी कति जनालाई क्रिमिनलाइज गर्ने हो ?,” ।
गभर्नरले थपे, “यसमा छलफल हुन जरुरी छ । कुन लिमिटमा कसरी हेर्ने यसमा रिभ्यू हुनुपर्छ भनेर हामी छलफलमै छौँ । यो देशमा १० लाख एन्टरप्रेनर होला डेढ लाख मान्छेलाई कालोसूचीमा राखेपछि कर्जाको डिमान्ड नबढ्ने एउटा कारण हो कि जस्तो देखिरहेको छ । यसमा हामीले केही महिनाअघिदेखिनै हेरिरहेका छौँ ।”










प्रतिक्रिया दिनुहोस्