समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौँ, २९ कार्तिक । महोत्तरीमा विद्युत् विस्तारको काम गरिरहेका बेला करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । 

प्रहरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका–९ र १० को भरतपुर र बटुवा बस्तीमा काम गरिरहेका जिल्लाकै सोनमा गाउँपालिका–३, गोबरैयाका २८ वर्षीय जयकुमार यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो ।

निर्माण कम्पनी टाटा सप्लाईको विद्युत् विस्तारमा ज्यालादारी कामदार रहेका यादवलाई विद्युत् लाइन काटिएको सूचनाका आधारमा शुक्रबार तार तान्दै गर्दा करेन्ट लागेको थियो । उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेका थिए ।