समाचार

पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी शुरु



काठमाडौँ, ३० कार्तिक । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी शुरु गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार बाला चतुर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको हो ।

तयारीका लागि सरोकार भएका निकायसँग बैठक गरी कामको बाँडफाँट गरिएको छ । दिवङ्गत पितृको सम्झनामा आफन्तजनबाट पर्सि मङ्गलवार रातभर दीप प्रज्वलन गरी बुधबारका दिन शतबीजारोपणलाई व्यवस्थित रूपमा गर्न तयारी शुरु गरिएको हो । हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा छ ।

मन्दिर प्राङ्गणको चारैढोका र पश्चिम मूल ढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीप प्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । बत्ती बाल्न र रातभर जाग्रामका लागि पालभित्र र उपलब्ध हुन सक्ने अन्य ठाउँसमेत कोषले निःशुल्क उपलब्ध गराइने भएको छ ।