राजनीति

जेन-जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ: मन्त्री पुन



काठमाडौँ, १ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले फुटेर नभई जुटेर अगाडी बढ्नुपर्ने अवस्थामा फुटेर निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रम बढेकाले यस्तै ताल रहे जेनजी आन्दोलनको लक्ष्य तुहिएर जाने बताउनुभएको छ ।

हालसम्म निर्वाचन आयोगमा १२३ दल दर्ता भइसकेको र ३२ वटा दर्ता प्रकृयामा रहेको समाचार बारे आफ्नो धारणा राख्दै मन्त्री पुनले नयाँ वा पुराना सवै दलहरुले आफुलाई पर्ने खाल्डो आफैं खनेको भन्दै आक्रोस जनाउनुभयो । नयाँ मिल्नुको साटो फुट्दै गएर नयाँ नयाँ दल दर्ता गरेमा पुनः पुराना दलहरुले नै सरकार सञ्चालन गर्ने भएकाले अहिलेको उपलब्धी गर्नु उहाँले बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा आज भन्नुभएको छ, ‘हेर्नुहोस १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे । यिनीहरूले आफुलाई पुर्ने खाल्डो आफै खन्दैछन् । संसारमा फुटेर होइन की आपसमा मिलेर र जुटेर मात्र शक्तिशाली भईन्छ । नेपालीहरु फुट्ने र सानोतिनो कुराहरुमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको छ । यस्तै ताल हो भने नेपालमा बृद्ध नेताहरुको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरुको र आसेपासेहरुको शासन फेरि फर्किन्छ । जेन-जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरु र निर्णयहरु पुरानै पापी भ्रष्टाचारी पार्टीहरु फेरि निर्वाचित भएर आए भने उलट्‌याउँछन् ।’