जनकपुरधाम, ३ मंसिर । मधेश प्रदेशसभा बैठक बुधबार बस्ने भएको छ ।
उपसभामुख बबिता राउत इसरको निर्देशनपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो १ बजे बैठक बस्ने सूचना प्रकाशन गरेको हो । उक्त बैठकमा सभामुख रामचन्द्र मण्डलले पदीय मर्यादाअनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल हुने समेत प्रदेशसभा सचिवालयले जनाएको छ ।
लामो समयदेखि अवरुद्ध रहेको मधेस प्रदेशसभा सञ्चालनका लागि मंगलबार विभिन्न पार्टीका मधेस प्रदेशसभाका ३२ जना प्रदेशसभा सदस्यहरूले उपसभामुख इसरसमक्ष माग गरेका थिए । प्रदेशसभा नियमावलीअनुसार प्रदेशसभा २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेको खण्डमा बैठक बोलाउनुपर्ने कानुनी प्रावधान छ ।
मधेस प्रदेशसभामा सभामुख मण्डल विरुद्धमा दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउनका लागि सात दलबाट माग भएको हो । सभामुख रामचन्द्र मण्डलले भने विधिवत् रुपमा कानुनी रुपमा प्रस्ताव दर्ता गराउन आए दर्ता हुने बताए । तर, निवेदन नै विधि मिचेर दर्ता गराउन आएकोले प्रस्ताव दर्ता नभएको बताए ।










प्रतिक्रिया दिनुहोस्