समाचार

नेप्सेम्याकद्वारा ‘प्रहरी विट’ हस्तान्तरण



भक्तपुर, १० भक्तपुर । ‘कर्म मेरो पुजा’ भन्ने मान्यतालाई आत्मसात् गर्दै नेप्सेम्याक सेवा प्रालिले सामाजिक र वातावरणीय सेवा नै मानवीय धर्मको रुपमा लिँदै वातावरणमैत्री ट्राफिक प्रहरी विट निर्माण गरी हस्तान्तरण गरेको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नंं. ५ राधेराधेस्थित चोकमा गत भदौं २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त बनाइएको विटलाई नेप्सेम्याकले आफ्नो संस्थाका सामाजिक उत्तरदायित्व अन्तरगतको रु दुई लाख ५० हजारको लागतमा नेप्सेम्याक वातावरणमैत्री पार्कमा उक्त विट निर्माण सम्पन्न गरी मध्यपुर थिमी प्रहरी वृत्तका प्रमुख डिएसपी नवराज ढुंगानालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

‘असल हातहरु सधैं साथमा, राम्रो वातावरण हाम्रो हातमा’ भन्ने नाराका साथ जेनजी आन्दोलनको प्रतिकुलतालाई अनुकुलतामा रुपान्तरण गर्ने लक्ष्यका साथ नागरिक र प्रहरीसँगको सामुदायीक सहकार्य गरेको नेप्सेम्याकले जनाएको छ । ‘सेवा र सामाजिक उत्तरदायित्व सँगसँगै लैजानुपर्छ र जिम्मेवार निकाय, संस्था र नागरिकले तोकिएको जिम्मेवारी अक्षरस पालना गर्नुपर्छ’ नेप्सेम्याक भक्तपुरका शाखा प्रवन्धक बाबुराम चौलागाईले भन्नुभयो, ‘मध्यपुर नगरपालिकाको वडा नं. ५ सहित भक्तपुरलाई नै नमुना बनाउने योजना हाम्रो रहेको छ । त्यसमा सवैको साथ र सहयोगका अपरिहार्यता छ ।’

उक्त विट नागरिकको सुरक्षा र वातावरण सौन्दर्यताको लागि विशेष प्रयोग हुने बताइएको छ । डिएसपी ढुंगानाले भन्नुभयो, ‘यो विटको संरचनामात्र हैन, जनता र नेप्सेम्याकको मायाँ हो । यसले हामीलाई थप जिम्मेवारीको भारी बोकाएको छ । जिम्मेवारी अनुसार नागरिकलाई थप सुरक्षाको अनुभुति गराउनेछों । तपाईहरुको सल्लाह र सुझाव अनुसार नै हामी आगडी बढ्ने छौं । गम्भीर र जिम्मेवारका साथ काम गर्नेछौं ।’

उक्त विटको लागि बत्तिको आवश्यकता रहेको छ । जसको लागि विद्युत प्राधिकरणसँगै स्थानीय तहको समन्वयात्मक र सहयोगी भूमिका आवश्यक रहेको औंल्याइएको छ । ‘जेनजी आन्दोलनले हाम्रो वडामा ठूलो भौतिक क्षती व्यहोरेको छ,’ वडाध्यक्ष बालकृष्ण श्रेष्ठले भन्नुभयो, ‘वडाले प्रहरीको लागि आवश्यक सहयोग तथा समन्वय गर्नेछ । साथै नेप्सेम्याकको पनि सामाजिक क्षेत्रमा गर्ने सहयोग आगामी दिनमा पनि निरन्तरताको अपेक्षा गरेका छौं । त्यसको लागि वडाले आवश्यक सकारात्मक भूमिका निर्वाह गर्छ ।’

नेप्सेम्याकका सञ्चालक गोविन्द प्रसाद आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजसेवी पुन्यराम काछुला, पूर्ण तज, केशव शाही, रामबहादुर कार्की, नवराज काफ्ले, नेपाल फुलवारी, राष्ट्रको लागि दुई घण्टे अभियान तथा स्थानीय टोल सुधार समिति लगातका समाजसेवीहरुको सहभागिता रहेको थियो ।