काठमाडौँ, १३ मंसिर । बौद्ध स्थित पाँचतारे होटल हायात रिजेन्सी परिसरमा सञ्चालित प्राइड क्यासिनोबाट १४ करोड रकम लुटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा हायात होटलमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट प्रालीमा लुटपाट भएको थियो । लुटमा संलग्न आरोपमा पक्राउ पर्नेमा दावा सेट्टी र रञ्जित खड्गी ‘रणे’ छन् । उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए ।
गुण्डागर्दी पृष्ठभूमिका सेट्टी र रणेले खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेर लुटपाट गरेर हिँडेको भिडियोमा देखिन्छ । उनीहरुले क्यासिनोबाट १४ करोड नगद लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको थियो ।










प्रतिक्रिया दिनुहोस्