काठमाडौँ, १४ मंसिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज बिहान फेसबुकमार्फत एक भिडियो सन्देश जारी गरे ।
एमालेको ११औँ महाधिवेशनका लागि चुनिएका प्रतिनिधिहरूलाई लक्षित थियो ।
उनले एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको कार्य सम्पन्न भएको उल्लेख गर्दै कतिपय ठाउँमा सर्वसम्मत र कतिपय ठाउँमा प्रतिस्पर्धात्मक ढंगले प्रतिनिधिहरू छानिएको उल्लेख गरेका छन् ।
महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिने घोषणा गरिसकेका पोखरेलले भिडियो सन्देशमा भनेका छन्, “यो महाधिवेशनमा महत्त्वपूर्ण भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।”
एमाले अध्यक्ष केपी शर्मा ओलीसँको प्रतिस्पर्धीका रूपमा देखिएका पोखरेलले आफ्नो भिडियो सन्देशमा पार्टी जीवनको लोकतान्त्रीकरणको कुरा उठाएका छन् । “नेपाल कम्युनिस्ट पार्टी (एमाले) जनताको बहुदलीय जनवादको रक्षा र पार्टी जीवनको लोकतान्त्रीककरणको कुरालाई प्रभावकारी ढंगले अगाडि बढाउन चाहन्छ । यी काम गर्दै मुलुकमा समृद्धिको एउटा अभियानलाई अगाडि बढाउन चाहन्छ,” पोखरेलले भनेका छन्, “यो ११औँ राष्ट्रिय महाधिवेशन यो काममा महत्त्वपूर्ण निष्कर्षमा पुग्न सकोस् म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।”
उनले आफूहरूले नेतृत्वमा मित्रवत् प्रतिस्पर्धा चाहेको पनि भन्न छुटाएका छैनन् । “यो सँगसँगै नेतृत्व निर्माणमा स्वस्थ, मित्रवत् प्रतिस्पर्धाको कुरालाईअगाडि बढाउन चाहन्छौँ । यो महाधिवेशनमा यी कामहरू गर्न सकौँ,” पोखरेलले भनेका छन् ।










प्रतिक्रिया दिनुहोस्