Banner News

एमाले एउटै नेताको वरपर घुम्यो : नेता खनाल



काठमाडौँ, १४ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नो पार्टी नितान्त फरक कम्युनिस्ट पार्टी भएको दाबी गरेका छन् ।

आज पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले नेकपा नीति प्रधान भएर अघि बढ्ने पनि जिकिर गरे ।

‘अब हामी नेपाली कम्युनिस्ट पार्टीमा आएका छौं । यो नितान्त फरक कम्युनिस्ट पार्टी हो । यो पार्टी अब नीति प्रधान पार्टी भएर अघि बढ्ने छ । नेता प्रधान होइन,’ खनालले भने ।

उनले नेकपा एमाले भने नेता प्रधान पार्टी भएको बताउँदै एउटै नेताको वरिपरि पार्टी घुमेको बताए ।

‘नेता प्रधान पार्टीको नमुना हेर्नुस्, नेकपा एमाले । त्यो नेकपा एमाले एउटा नेताको वरिपरि घुम्ने पार्टी बनिरहेको छ । त्यसकारण त्यस्तो पार्टीको अधोपतन अनिवार्य हुन्छ । केही क्षण मात्रै हो,’ खनालले भने ।