राजनीति

अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार पूर्णरुपमा कार्यान्वयन हुनुपर्छ: उपराष्ट्रपति यादव



काठमाडौँ, १७ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस, २०२५ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सबैमा समान सहभागिता, अवसर र सहानुभूतिलाई प्रवर्द्धन गर्न सबैको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गरे । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा सङ्कल्पलाई पुनः स्मरण गराउने बताउँदै उनले दिवसले थप प्रेरणा, ऊर्जा र प्रतिबद्धता प्रदान गर्ने विश्वास व्यक्त गरे । 

उनले भनेका छन्, “नेपालको संविधानले पनि अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्ने अधिकारका साथै सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, यसलाई सबैले आत्मसात् र अवलम्बन गर्न जरुरी छ ।”