समाचार

एनपीएलमा आज दुई खेल हुने



काठमाडौँ, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्नेछन्। दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम र सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगरको खेललाई रोचक रुपमा हेरिएको छ ।

दोस्रो खेलमा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। चितवनका कप्तान कुशल मल्ल हुन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले गरेका छन्।

सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेको छ। उसका लागि आजको खेलमा कुनै दबाब छैन। आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको खेल जित्नुपर्ने दबाब छ।