राजनीति

सरकारले निर्वाचनको वातावरण तयार गर्न सकेन : महामन्त्री थापा



सर्लाही, २० मंसिर । कांग्रेस महामन्त्री गगन थापाले तोकिएको मितिमा निर्वाचन हुन केही कठिनाइ भए पनि सरकार पक्षले वातावरण तयार गर्न नसकेको आरोप लगाएका छन् । 

नेपाल प्रेस युनियन सर्लाहीले शनिबार मलंगवामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले निर्वाचनको वातावरणका लागि सरकार पक्ष चुकेको बताए । नेपाली कांग्रेस फागुन २१ को प्रतिनिधिसभा निर्वाचनप्रति प्रतिबद्ध रहेको जनाउँदै महामन्त्ती थापाले दलहरु निर्वाचनका लागि तयार रहे पनि सरकार संशय हटाएर निर्वाचन गराउन प्रतिबद्ध नदेखिएको आरोप लगाए ।

उनले भने, ‘ ‘तोकिएको मितिमा निर्वाचन गराउन केही कठिनाइ छ । भागेका कैदीबन्दी र हतियार सरकारले नियन्त्रणमा ल्याउनुपर्छ, नभए चुनावमा संशय कायम नै रहन्छ ।’

जेन-जी आन्दोलनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौती बन्न सक्ने थापाले तर्क गरे । उनले तोकिएको मितिमा मधेशमा होलीको वातावरण तथा पहाड र हिमालमा मौसम प्रतिकूल पनि समस्या बन्न सक्ने बताए । यसबारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई सर्वदलीय बैठकमा जानकारी गराएको जानकारी दिए ।