काठमाडौं, २० असोज । ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ रोल्पाका हरि बूढा मगरको दरिलो आत्मबल र अठोट महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी हरफमा झल्किन्छ । हरिका दुवै खुट्टा घुँडामुनि काटिएका छन् । उनी कृत्रिम खुट्टाको सहारामा हिँडडुल गर्छन् ।
उनको शारीरिक अवस्था देख्नेहरू उनको उद्देश्य सुनेर आश्चर्यमा पर्छन् । तर, उनी पाँच वर्षयता निरन्तर लक्ष्य चुम्न दत्तचित्त भई लागिपरेका छन्। उनको लक्ष्य हो, विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने।
आउँदो वसन्त ऋतुमा उनले सगरमाथा चढ्ने योजना बुनेका छन्। उनले यही असोज ३ गते ६ हजार ४ सय ७६ मिटर उचाइको मेरापिक हिमाल आरोहण गरिसकेका छन्। ३८ वर्षीय हरि रोल्पाको जेवारी गाउँमा जन्मिएका हुन्। उनको गाउँबाट हिमालनजिकै देखिन्छ। सानै छँदा उनमा हिमाल चढ्ने रहर पलाएको थियो। तर, बल्ल आएर त्यो रहर पूरा भएको छ ।
सामान्य परिवारमा हुर्किएका उनले एसएलसीसम्म अध्ययन गरेका छन्। २०५६ सालमा लिवाङको बालकल्याण उच्च माविमा प्रमाणपत्र तह पढ्दै थिए, उनी बेलायती गोर्खा सैनिकमा भर्ती भए। २०६७ सालमा पहिलो गोर्खा राइफलमा कार्यरत रहँदा गस्तीकै क्रममा तालिवान र अलकायदाले बम प्रहार गरे। उनले दुवै खुट्टा गुमाउनुर्पयो।
‘अफगानिस्तानको हेल्मान्ड प्रान्तको युद्धमा मैले बहादुरी त देखाएँ तर झन्डै जीवन गुमेन’, बम प्रहारमा परेको क्षण सम्झिँदै उनी भन्छन्।
२०७१ सालमा जागिरबाट अवकाश भए। एकाएक शारीरिक रूपमा अशक्त भए पनि उनले हरेस खाएनन्। ‘त्यसपछि मैले विभिन्न सीप सिक्न थालें, जसले मलाई साहस र आत्मबल थप्यो’, उनी भन्छन् ।
खुट्टा नभए पनि उनले अवकाश जीवनमा जोखिमपूर्ण खेल स्काई डाइभिङ, स्की, कायकिङ खेल्न सुुरु गरे। आकाशबाट हाम फालेर सकुशल भुइँमा टेक्न सफल भएपछि ‘जे पनि गर्न सक्छु’ भन्ने लागेर हिमाल चढ्ने लक्ष्यमा उनी पुगे।
स्की, कायकिङ, ब्याडमिन्टन, गल्फका उनी उत्कृष्ट खेलाडीसमेत हुन्। सगरमाथा आरोहणका लागि पहिले ६ हजारभन्दा माथिको एउटा हिमाल चढेको हुनुपर्ने नियम छ। नियम पूरा गर्न उनले मेरापिक हिमालको सफल आरोहण गरे। दुवै खुट्टाविहीन उनको यो आरोहणले रेकर्ड बनायो। अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्