राजनीति

सुकुम्वासी समस्या समाधानमा सरकारले आवश्यक पहल गरेकाे छैन : संयोजक प्रचण्ड



काठमाडौँ, २२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन् ।

नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिको साेमबार ज्ञापनपत्र बुझ्दै संयोजक दाहालले पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन, महोत्तरीलगायत स्थानबाट भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानको काम सुरु गरिएको भए पनि पछिल्ला सरकारहरूले यसतर्फ आवश्यक पहल नगरेको बताए । समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले देशभरका भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि तत्काल पहल गर्न नेपाली कम्युनिष्ट पार्टी समक्ष आग्रह गरेको हो ।

समितिका अध्यक्ष अजय वैगारसहितको केन्द्रीय कार्यसमितिले आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा संयोजक प्रचण्डलाई भेटी ज्ञापनपत्र बुझाएको हो । दीर्घकालीन रूपमा भूमिहीन, सुकुम्वासी तथा विपन्न नागरिकको जीवनस्तर सुधारका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै समितिले त्यसका लागि सक्रिय पहल गरिदिन आग्रह गरेको छ ।