काठमाडौँ, २८ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।
संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारहरुको नाम पठाइसक्नुपर्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तिमा तीन जनासम्म हुने गरी अनिवार्य रुपले सम्भावित उम्मेदवारहरुको नामावली केन्द्रीय कार्यालयमा पठाउन सर्कुलर गरिएको छ ।
बस्नेतका अनुसार समानुपातिक तर्फ प्रत्येक जिल्लाबाट जिल्ला समितिले कम्तिमा ३ जना पुरूष र ३ जना महिला जातीय कलष्टर अनुसार समावेशी हुने गरी प्रदेश समितिमा पठाउने र प्रदेश समितिले उक्त नामावलीमाथि छलफल गरी आफ्नो रायसहित उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा बुझाउनुपर्ने छ ।










प्रतिक्रिया दिनुहोस्