काठमाडौँ, २९ मंसिर । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरी पखेरा जंगलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो सिकार खेल्न जंगल गएका दुई साथीमध्ये एकजनाको भरुवा बन्दुक अचानक पड्किँदा अर्का साथीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ बालुभञ्ज्याङ बस्ने ५० वर्षीय सेते थिङ रहेको छ । राक्सिराङ गाउँपालिका–८ राजराङ्ग बस्ने ४५ वर्षीय गोपाल ब्लोन र मृतक थिङ एक-एक थान भरुवा बन्दुक बोकेर सिकार खेल्न जंगल गएका थिए ।
जंगलमा हिँड्ने क्रममा अगाडि रहेका गोपाल ब्लोनको खुट्टा लहरामा अल्झिएर लड्न पुग्दा उनीसँग रहेको भरुवा बन्दुक अचानक पड्किएको थि यो। सोही बन्दुकको गोली पछि-पछि आइरहेका साथी सेते थिङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना लगत्तै गोपाल ब्लोनले अपराह्न ४:४० बजे ईलाका प्रहरी कार्यालय मनहरीमा जानकारी गराएका थिए । सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट २ थान भरुवा बन्दुक बरामद गरेको छ ।
हाल गोपाल ब्लोनलाई ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्