काठमाडौँ, ४ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट अन्त्य भइसकेको बताएका छन् ।
महाधिवेशनपछि आज बसेको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनसँगै प्यानल र पक्ष/विपक्ष पनि सकिएकाे बताएका हुन् ।
महाधिवेशनमा उम्मेदवार बन्दा कोही प्यानल र कोही स्वतन्त्र लडे पनि मतपरिणाम सार्वजनिक भइसकेपछि गुट सकिएको उनको भनाइ छ ।
उनले भने, ‘हिजो चुनावमा लड्दा प्यानल भएर लडियो होला, स्वतन्त्र भएर लडियो होला। त्यो हिजै सकियो,’ ‘अब एमालेको केन्द्रीय कमिटीमा हामी छौँ । यो प्यानल र त्यो प्यानल होइन यो देश हाँक्ने एमालेको एकढिक्का हो। यो-त्यो प्यानल छैन ।’
ओलीले दोस्रो विधान महाधिवेशनले पारित गरेका वैचारिक, कार्यक्रमिक नीतिअनुसार एकस्वर भएर (परेडमा आर्मीले मार्च गरेजस्तो ) ताल र सुरमा अघि बढ्ने विश्वास व्यक्त गर्दै त्यसरीमात्र सफलतामा पुगिने बताए ।
‘असन्तुष्टि नेतृत्वसमक्ष व्यक्त गर्दा हुन्छ, मौखिक र लिखित रूपमा गर्दा हुन्छ । सार्वजनिक सञ्चारमाध्यममा गएर पार्टीको प्रतिष्ठामा अलिकति पनि आँच पुग्ने खालका कुराहरू नआउन् भन्ने म आग्रह गर्दछु’, ओलीले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिँदै सुदृढ अनुशासनमा बस्न आग्रह गरे ।










प्रतिक्रिया दिनुहोस्