काठमाडौँ, ५ पौष । नेकपा एमालेका मुख्यसचेतक रहेका महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलले संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।
आज उनले एक विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलले संवैधानिक कमजोरी सच्याउँदै संसद् पुनर्स्थापना घोषणा गर्नुपर्ने बताएका हुन् ।
संविधानको परिपालक र संरक्षकको जिम्मेवारीमा रहेका राष्ट्रपतिको गम्भीर संवैधानिक असावधानी र कमजोरीकै कारण प्रतिनिधिसभा विघटन भएको उनको बर्तौलाको भनाइ छ ।
‘यो केवल संसद्को विघटनमात्रै होइन, यो त लोकतन्त्रको आत्मामाथिको नाङ्गो प्रहार र जनतामा निहित सार्वभौमसत्ताको शिर छेदन समेत हो,’ उनले भनेका छन्, ‘यद्यपि, यसका विरुद्ध संवैधानिक परीक्षण र उपचारका लागि दर्जनौं रिटहरू समेत सम्मानित अदालतमा दर्ता भइ विचाराधीन अवस्थामा रहेको छ ।’
राष्ट्रपति पौडेलले आफूबाट भएको संवैधानिक कमजोरी सच्याउन अदालतमा विचाराधिन रिटहरू माथिको आदेश कुरिरहनु नपर्ने बर्तौलाको जिकिर छ । ‘संविधान सम्मत निर्णय हुन नसक्दा उत्पन्न संवैधानिक संकट र बढ्दो राजनीतिक अस्थिरताको तत्काल अन्त्य गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट नै संसद् पुनर्स्थापना सम्बन्धी विगतको नजीरका आधारमा समेत लोकतन्त्र, संविधान र राष्ट्रप्रतिको जवाफदेहितालाई शिरमा राख्दै अविलम्ब संसद् पुनर्स्थापनको घोषणा गरी संसद्को बैठक आह्वान गर्नु पर्दछ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्