पाल्पा, ७ पौष । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण मानिने सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम छिटो सक्न ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले निर्देशन दिएका छन् ।
उनले आइतबार निर्माणस्थलको स्थलगत अनुगमन गरी कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच सुल्झिन बाँकी रहेका प्राविधिक तथा प्रशासनिक विषयलाई तत्काल टुङ्ग्याउन आग्रह गरे । निर्माण व्यवसायीले वन कटान र भुक्तानीमा भएको ढिलाइ जस्ता कारण देखाउँदै १९ महिना म्याद थपको माग गरेको सन्दर्भमा उनले निर्णय प्रक्रिया ढिलो गरेर आयोजना प्रभावित पार्न नहुनेमा जोड दिए ।
पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित यस आयोजनाको मुख्य ११ सय २६ मिटर लम्बाइको सुरुङ खन्ने कार्य सकिएको हो । सुरुङमार्गको भौतिक प्रगति उत्साहजनक देखिए पनि वित्तीय प्रगति भने हालसम्म ५६ प्रतिशत रहेको छ ।
७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको यो सुरुङमार्ग चैत २०८३ भित्र सक्नुपर्ने सम्झौता छ । मुख्य सुरुङबाट सवारी साधन चल्न थालेपछि मात्र पहिरो रोक्नका लागि ७ सय ८० मिटर लामो ‘रक सेड’ निर्माणको काम सुरु गरिनेछ ।










प्रतिक्रिया दिनुहोस्