समाचार

सात जना जुवाडे पक्राउ



काठमाडौँ, ७ पौष । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित एक खाजाघरमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । 

अधिकारी टोलमा भोजपुरका ३८ वर्षीय प्रेम बहादुर श्रेष्ठले सञ्चालन गरेको बालकोट चुल्हो कफी तथा खाजाघरमा जुवातास खेलाइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

आइतबार साँझ प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले खाजाघरका सञ्चालक प्रेम बहादुरसहित सातै जनालाई जुवाको खालबाटै नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट नगद २२ हजार ५ सय ३५ रुपैयाँ र तीन बुक तास समेत बरामद गरेको छ ।

पक्राउ परेका सबैलाई अहिले प्रहरी हिरासतमा राखिएको छ। उनीहरूमाथि जुवा ऐनअन्तर्गत आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।